Sunday, November 13, 2016

कोही एक्कासि बेहोस भयो ? यसरी गर्नुहोस् उद्धार

चक्कर लागेर मान्छे एकाएक ढल्न र बेहोस हुन सक्छ । चक्कर लाग्ने विभिन्न कारण हुन्छन् । चर्को थकान, रक्तचापको कमी, शरीरमा ग्लुकोजको कमी, छारे रोगलगायत कारणले व्यक्ति ठाउँको ठाउँ बेहोस भएको पाइन्छ । यस्तो अवस्था परिवारका सदस्य या अर्को जोकोहीमा निम्तियो र तपाईं नजिकै हुनुहुन्छ भने नआत्तिनुहोस् । त्यतिवेला सचेत भएर उद्धार गर्ने तरिका डा. केदार सेन्चुरीले सिकाएका छन् ।
बेहोस भएको व्यक्तिलाई तत्काल शीतल र सजिलो ठाउँमा लगिहाल्नुहोस् । भिडभाड नभएको हावा चल्ने शीतल ठाउँमा आरामसँग सुताउनुपर्छ ।
जुनकुनै कारणले बेहोस भए पनि व्यक्तिलाई जहिल्यै कोल्टे पारेर सुताउनुपर्छ । यस अवस्थामा कहिलेकाहीँ उसले बान्ता गर्ने सम्भावना हुन्छ । उत्तानो सुताइएको छ र यहीवेला बान्ता भयो भने स्वासनलीबाट फोक्सोमा पुग्ने खतरा रहन्छ । फोक्सोमा पुगेको बान्ताले क्रोनिक निमोनिया गराइदिने भएकाले विशेष होसियारी पुर्‍याउनुपर्छ ।
सहज ठाउँमा सही तरिकाले सुताइसकेपछि बेहोस भएको व्यक्तिको शरीरमा पानी छम्किदिनुहोस् । पानी छम्किएपछि व्यक्ति होसमा आउँछ ।
होसमा आएपछि उसको शरीरमा इनर्जी ल्याउने प्रयास गर्नुपर्छ । शारीरिक कमजोरीले मान्छे बेहोस हुने गर्छ । ग्लुकोज पानीले शरीरमा केही शक्ति दिन्छ । केहीबेरपछि फलफूलको जुस दिन सकिन्छ तर, थोरै–थोरै गर्दै । ठोस खानेकुरा भने दिनु हुँदैन ।
हल्का केही इनर्जी प्राप्त भएपछि उसको रक्तचाप जतिसक्दो छिटो जाँच गर्नुपर्छ । रक्तचापको असन्तुलनले बेहोस भएको भए ढिला गर्नु खतरनाक हुन सक्छ ।
विभिन्न प्रक्रिया अपनाउँदा पनि लामो समयसम्म बेहोस व्यक्ति होसमा नआएमा नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्छ । स्वास्थ्य संस्थामा लैजाने क्रममा पनि उसलाई कोल्टो सुताएरै लैजानुपर्छ ।
नयाँ पत्रिकाबाट
Image result for girls faint

No comments:

Post a Comment